दफा २०
नदीकाट, बालुबुर्ज भएमा वा पहिरो गएमा मालपोत मिन्हा दिने
– (१) मालपोत लाग्ने कुनै जग्गा कुनै वर्ष नदी खोलाले काटेमा वा बालुबुर्ज भएमा वा पहिरो गएमा वा पहिरोले पुरी मुख्य बाली हुन नसकेमा सम्बन्धित जग्गावालाले तोकिएको म्यादभित्र तोकिएको ढाँचामा विवरण खोली मालपोत कार्यालयमा दरखास्त दिनु पर्नेछ ।
तर, बाली लागेको जग्गाको हकमा उपदफा (२) बमोजिम जाँचबुझ हुनुभन्दा अगावै सो बाली काट्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिम पर्न आएको दरखास्तमा उल्लेखित कुराहरुको जाँचबुझगर्न मालपोत कार्यालयको प्रमुखले तीस दिनभित्र आफैं गई वा डोर खटाई जाँचबुझ गर्न गराउनु पर्नेछ । सो बमोजिमको जाँचबुझ गर्दा गराउँदा सो वर्ष मालपोत मिन्हा गर्नु पर्ने देखिएमा कति प्रतिशतसम्म मालपोत मिन्हा दिनु पर्ने हो मालपोत कार्यालयले यकीन गरी मिन्हा दिई मालपोत विभागमा सात दिनभित्र जानकारी दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको जाँचबुझबाट कुनै जग्गा सधैको निमित्त वेसाबूद वा बेकम्मा भएको देखिएमा सो जग्गाको लगत कट्टा गर्न मालपोत कार्यालयले नेपाल सरकारमा जाहेर गर्नेछ र नेपाल सरकारले मुनासिव देखेमा सो जग्गाको लगत कट्टा गर्न मालपोत कार्यालयलाई आदेश दिनेछ ।